न्यूजअफ मधेस,संवाददाता,असोज ०९,सर्लाही। सर्लाही जिल्लाको मलंगवाको अवस्थालाई मध्यनजर गर्दै गत बिहीबार रातिदेखि अनिश्चितकालका लागि लगाइएको कर्फ्यु सोमबारबाट केही खुकुलो बनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबार दिउँसो एक सूचना जारी गर्दै कर्फ्यु केही खुकुलो बनाएको जनाएको छ । बिहानदेखि बेलुकासम्म कर्फ्यु खुला गरिए पनि राति भने कायमै राखिएको छ । गएको असोज ४ गते गणेशको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच झडप भएपछि नगरमा कुनै किसिमका अप्रिय घटना हुन नदिन जिप्रकाले मलंगवा नगर क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्युले जनजीवन प्रभावित हुन थालेपछि सुरक्षा समितिको बैठकले बिहानदेखि बेलुकासम्म खुला गर्ने र साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु कायमै रहने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जनाएका छन् । बैठकको निर्णय अनुसार कर्फ्यु नलागेको समयमा साबिकको नगर क्षेत्रभित्र कुनै किसिमको भेला, जुलुस, बैठक वा प्रदर्शन भने गर्न पाइने छैन ।

 

केही दिनदेखि सामाजिक संजालको दुरुपयोग गरेर सामाजिक सद्भाव भड्काउने किसिमका अफवाहहरु फैलाउने काम भइरहेकोले यस्ता विरुद्ध साइबर अपराध गरेको अभियोगमा कारबाही गर्ने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

भाईरल समाचार