न्यूजअफ मधेस,संवाददाता,धनुषा, १४  पुस । धार्मिक एवम् पर्यटकीय स्थलको रुपमा परिचित मधेस प्रदेश धनुषाको धनुषाधाममा परापूर्वकालदेखि लाग्दै आएको मकर मेलाको ठेक्का लागेको  छ । 

धनुषाधाम नगरपालिका वडा न.३ स्थित रहेको धनुष जनता माविले आव्हान गरेको टेन्डर (बोलपत्र) को लागि १८ जना ठेक्केदारहरुले उक्त ठेक्का दाबीको लागि कागजातहरु पेश गरेको भएपनि प्रक्रियागत र बोलपत्रको नियमानुसार १० लाख ५५ हजार पाच सयमा रवीन्द्र यादवले उक्त ठेक्का पाएका हुन् ।

माघको पहिलो आईतबारदेखि एक महिनासम्म  प्रत्येक आईतबार  लाग्ने मकर मेला भर्नको लागि नेपाल र भारतको विभिन्न ठाउँबाट  श्रद्धालु भक्तहरु आउने गरेको छ । धनुषाधाममा अवस्थित धनुष  मन्दिरमा शरिरमा हुने मुसो रोग निवारणको लागि भाकल गर्ने प्रचलन छ । 

मुसो एक प्रकारको चर्मरोग पनि हो । यी रोग भएका श्रद्धालुले धनुषाधाममा रहेको धनुष मन्दिरमा भण्टाभार ( बैगनको भार) चढाउने भाकल गरेपछि रोग निको हुने मान्यता पौराणिकालदेखि नै चलिआएको छ । मेलामा लाखौंको सँख्यामा  भाकल तथा मेला भर्नको लागि आउने गर्छन् ।

धनुषाधाममा प्रत्येक वर्ष लाग्ने मकर मेला तेजपातको लागि प्रसिद्ध मानिन्छ ।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद कुमार यादव,वडा न.३ का वडा अध्यक्ष जयनारायण यादव,वडा न.२ वडा अध्यक्ष लक्ष्मी महतो,धनुषाधाम उद्योग वाणिज्य संघका अध्यक्ष किशोरी ठाकुर,शिक्षक,विद्यार्थी र राजनीतिककर्मी सहितको उपस्थितिमा मेला ठेक्का सम्पन्न भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

भाईरल समाचार